Pages

Tuesday, March 26, 2013

जनताको शासन र मैतेहरु


जनताको शासन र मैतेहरु


पुष्पराज अधिकारी

आज विहानै उठेर म देवीघाट तर्फ हान्निए । हिजो शनिवार घरमा धान काटने दिन भएकाले दिन भर छोरीसंगै वसे । जसले गर्दा जिम्मा लिएको वि.एड. का विद्यार्थीहरुको केस स्टडी, फिल्ड स्टडी रिपोर्ट टाइप गर्नु थियो । दिन भर त्यही रिर्पोट तयारीमा लागे । विद्यालय पढाउन पनि गइन । आज मैते माझीले वगरमा गिटी, वालुवा चालेको देख्दा मनमा अनेक विचाहरु पलाए । सधैं आफैले भोगेको दैनिकी लेख्दै आएपनि आज आफैले देखेको दैनिकी लेख्न मनलाग्यो र पात्रका रुपमा मैते माझीलाई लिए ।
हरेक दिन विहान उठेर मैते जस्ता धेरै माझीहरु त्रिशुलीको किनारमा आफ्नो भविष्य खोज्न जान्छन । त्यही घाट किनारवाट आफ्नो आगतको गोरेटो प्रसस्त गर्ने प्रयत्न गर्दछन । हिजो पनि त्यहीवाट आजलाई वोलाएका हुन् र भोलि पनि त्यही वाट पर्सि वोलाउनेछन् तिनीहरुले । विगत र आगत एकै तिनीहरुको । जतिनै नंग्रा खियाएपनि,  वगरमा वसेर जतिनै घुँडा धसे पनि घरमा तिनका छोरा छोरी भोकै छन्  । बाबु आउछ र खान पाइन्छ भनेर भन्देकी छे मैते की श्रीमतीले र त मैतेका छोरा छारीहरु वावु आउने वाटो हेरी रहन्छन् निरन्तर .....। त्रिशुली नदी झै अविरल ।
आमाले रोपिदिएको बावु आउने आसाको त्यान्द्रोले दिनभरीको लागि तिनीहरुको पेट भराइ रहन्छ । वावु आउने आशा पलाइरहन्छ ।  त्यही झिनो त्यान्द्रो, आफ्नो साथीहरुसंग वाँडदै भन्छन्–भरे वाउ आउछ । चामल ल्याउँछ । आमाले भात पकाउछे । आज त हामी भात खाने । भन्दै उनीहरु अर्को घरमा सुनाउदै पुग्छन् । वेलुका हुन्छ । बावु आइपुग्दैन भोकले सताउछ मैतेका छोरा छोरीलाई अनि अलि पर डिलमा वावु आउने वाटो तिर फर्केर ए .. वाउ ...छिटो घर आऊ । भोक लाग्यो वेस्सरी वोलाउछन तर उतावाट कुनै प्रतिकृया आउदैन । किनकी उसको वावु उसले देखेको वाटो भन्दा धेरै पर गएको छ । भोक भन्दा निन्दै्र प्यारो ती वालवालिका त्यसै निदाउछन् ।
आज मैतेले निकै कमायो । जम्मा जम्मी तीन सय कमायो । अक्सर उसले दैनिक यति नै कमाउछ । महिना भरमा जोडदा यति खेर उसको कामाइ एउटा खरदारको कमाइ सरहको छ । तर विडम्वना मैतेको आङमा गतिलो लुुगा छैन । उसकी स्वास्नीको ज्यानमा वल्ल वल्ल इज्जत ढाकिने टालो छ । त्यो पनि टालेको । खरिदारले एउटा परिवार मज्जाले पाल्छ तर मैतेको परिवार सधैं अभावै अभाव र तनावै तनावमा जीवन विताउने काम मात्र गरिरहेको छ ।
आज मैतेले कति कमायो कुन्नी उसैलाई थाहा छैन तर त्यो भन्दा वढी जानकारी भट्टीवालालाई भै सकेको हुन्छ । आफू धनी वन्न अरुलाई गरिव वनाउन वसेका्हरु मैतेको आम्दानीको लेखा जोखा गर्दै कहिले साँझ पर्ला भनेर पर्खिरहेका हुन्छन् । मैतेहरु जस्ताका लागि साँझ परेपछिको पहिलो गन्तब्यहो भट्टी । भट्टीवाट फिर्ता आएको पैसा लिएर वल्ल  पसलमा गएर रासन किन्छ । अलिकति चामल, तेल, नुन झोलामा पोको पारेर हल्लीदै घर तिर लाग्छ । यसैगरी दिन वितेको छ मैते र मैतेहरुका । वाटामा मैतेको स्वभावलाई रिस गर्ने थुप्रैछन् । झाडी, वुट्यान र काँडाहरु पनि मैतेको रासन खान आँ गरेर मुख वाइरहेका हुन्छन् । जव मैते हल्लिदै आउछ तव मैतेको रासन काडाहरुले लुछेर खान्छन् ।
हैन यतिवेला पनि घर नगएर मैते किन हल्लिदै छस् ? घर जा । कसैले उसलाई अर्ति दियो । तिम्रा घरमा सधै चामलको भात पाक्छ, तिमीहरु जस्ता मजदुरहरुको देशमा शासन आउछ, गरिवहरु सरकारमा, धनीहरु वगरमा गट्टी कुटने हाम्रो व्यवस्था आउछ हामीलाइ भोट देउ भन्ने तै हैनस ? तेरिमा काँठा । आज उल्टै मलाई घर जान सिकाउने । मेरो घर जान तैले सिकाउनु पर्छ । खे तेरा कुरा पुरा भएको ? यि हेर आज पनि मैले गट्टिकुटेरै रासन भर्न प¥या छ । मुजी वाहुन । गाउँकै किस्नेलाइ देख्ने वित्तिकै वर्वरायो मैते । हेर यसलाई जाँड लागेछ, खै छट । मैतेलाई घारी तिर घँचेटिदीएर कृष्णे आफ्नो वाटो लाग्यो । हातमा ल्याएको रासनको पोको, दिन भरी देखि मैतेका सन्तानले पर्खेको चिज पनि मैते लडदासंगै पोखियो । रक्सीले टिल्ल भएको मैतेले सायद ठिकै भनेको थियो तर के गर्नु उ नेत थिएन त्यसैले जँडयाहा भयो । यदि उ सानो तिनो गाउँको भुरे टाकुरे नेता या देशको राष्ट्रिय स्तरको ठूलै नेता भएको हुँदो हो र भट्टीमा वसेर देश वेच्ने योजना नै वनाएको किन नहोस सायद त्यो देशविकासको महत्वाकाँक्षी योजना भनिन्थ्यो । तर के गर्नु उ त मैते न प¥यो ।   यतिखेर मैतेले वोलेको सहि पनि गलत भयो । अमृत पनि विष वन्यो ।  रक्सीको सुर भयो । आज आम गरिव नेपालीहरु मैतेको दैनिन्दिनीमा जीवन विताइरहेका छन् । थाहा छैन भनिए जस्तो गरिवहरुको शासन कहिले आउछ । हो आवस्य आउछ उही मैतेहरुको भोलि मात्र । वस मैतेहरुजस्ता दुःखीहरुको कष्टपूर्ण भोली भालेको डाँकोसंगै भोली आउनेछ । मैते रक्सीको सुरमा त्यही वाटामा निदयो । थाहाछैन घरमा उसका वच्चाहरु के गर्दैछन् ।
१८ कार्तिक २०६६

No comments: